पृथक शक्तिका आधार

पृथक शक्तिका आधार   विगत ७० वर्षमा नेपाली राजनीतिमा शक्तिको बारेमा धेरै बहस भएका छन्। ती बहसहरूले गाउँका चिया पसलदेखि सिहदरबा...



पृथक शक्तिका आधार  

विगत ७० वर्षमा नेपाली राजनीतिमा शक्तिको बारेमा धेरै बहस भएका छन्। ती बहसहरूले गाउँका चिया पसलदेखि सिहदरबारसम्म गफको खुराक दिने गरेका छन्। केही समययता नयाँ शक्तिको बहस व्याप्त छ र नयाँ शक्तिको नाममा 'नयाँ मोर्चाबन्दी' सुरु भएको छ।


मोर्चाका मतियारले के बिर्सेका छन् भने कांग्रेस, एमाले, एमाओवादीलगायत सबै राजनीतिक मैदानमा आउँदा 'नयाँ शक्ति'कै रूपमा आएका हुन्। तर, स्थापित भएपछि ती राणाशासकभन्दा कुनै पनि अर्थमा भिन्न भएनन्। कुनै न कुनै समयका नेपालका नयाँ शक्तिहरूले दर्जनौँ सरकार फेरे पनि आमनागरिकले एकसरो लुगा फेर्ने व्यवस्था तिनले मिलाइदिन सकेनन्। यसले स्पष्ट गर्योद कि, शक्तिमा सुसंस्कार हुन्न भने नयाँ शक्ति केवल बुद्धिबिलासमात्र हुन्छ, आमनागरिकलाई त्यसले केही पनि दिन सक्दैन।

शक्ति स्वयंमा केही पनि होइन। यसको विकास र प्रयोग मूल कुरो हो। कुनै पनि नयाँ दल सकारात्मक शक्तिमा त्यतिखेरमात्र परिणत हुन्छ, जब त्यसको संस्कार पृथक हुन्छ। विधान, संरचनागत बनोट, नेताको चरित्र र लक्ष्य तथा समग्र व्यवहारमा पृथक हुन्छ। अन्यथा, त्यो प्रचारबाजीको लागि भनिने 'नयाँ' स्याम्पुजस्तै हुन्छ। जसको खोल नयाँ हुन्छ, तर झोल भने पुरानै हुन्छ। राजनीतिक व्यापारलाई प्रधान मानेर प्रचारबाजी गर्दै शक्तिको लागि साम, दाम, दण्ड, भेदको आत्मसमर्पणवादी बाटो लिन्छन् भने ती नयाँ हुनै सक्दैनन्। तिनको चित्र नयाँ हुन सक्छ, तर चरित्र पुरानै हुन्छ। देशलाई अहिले परम्परागत साम–दाम–दण्ड–भेदको बाटो लिने नयाँ झुन्ड होइन, मान्यता, सिद्धान्त, प्रणाली र व्यवहारको राजनीति गर्ने पृथक राजनीतिक संगठन चाहिएको छ, जसले शक्ति हासिल गर्नेमा मात्र केन्द्रित नभई राष्ट्रिय हितको विशाल उद्देश्य लियोस्।

जबसम्म घरको जग बलियो हुन्न, टल्किने छाना नयाँ लगाएर खासै अर्थ रहन्न। अन्ततः त्यो टल्कने छाना आधारहीन हुने हुनाले त्यो घर भत्किन्छ नै। राजनीतिमा पनि चरित्र र संस्कार प्रधान हुन्छ, व्यक्तिमा झैँ। नागरिकद्वारा अपेक्षाकृत सम्पूर्ण रूपान्तरण हासिल गर्न अबको राजनीति साध्यमात्र होइन साधन केन्द्रित हुनु पनि उत्तिकै जरुरी छ, जसका आधार निम्न छन्ः

मूल्य–मान्यता

राज्य ऐना हो, जसले त्यसका नागरिकका साझा प्रतिबिम्ब झल्काउँछ। आममानिसका मूल्य–मान्यतामा सकारात्मक परिवर्तन नआएसम्म राष्ट्रिय तहमा सकारात्मक परिवर्तन सम्भव नै छैन। राज्य केवल राज्य होइन, त्यो व्यक्ति र समाजको सामूहिकता हो। नयाँ बन्ने वा भएकै राजनीतिक संगठनले आफू र सिंगो समाजमा व्याप्त बेइमानी होइन निष्ठा, कपट होइन पारदर्शिता, लाचारी होइन साहस, अभिमान होइन विनम्रता र निक्रिष्टता होइन उत्कृष्टता स्थापित गर्न प्रेरित गरेमात्र सकारात्मक परिवर्तन सम्भव छ। अर्थात्, तबमात्र देशमा सद्भाव, समृद्धि र आत्मसम्मान स्थापित गर्न सकिन्छ।

सिद्धान्त

राजनीतिक अभ्यासमा दशकौँदेखि हामी 'चिन्तन'मै अल्मलिएका छौँ। यस्तो लाग्छ, सिद्धान्त मार्गचित्रभन्दा अनुहार हो, जसलाई बदल्नै सकिन्न। कोरा सिद्धान्तमै अडानमाथि अडान थपिएको छ। आजसम्म राजनीतिक दलको वास्तविक सिद्धान्त विलिन भएरै गए र अन्ततः कथित साम्यवादी र समाजवादीहरूले पनि आफ्नो अति पुँजीवादी चरित्र देखाइहाले! यसबाट सिक्ने के भने, अबको राजनीतिलाई समाजवाद, पुँजीवाद, कल्याणवादजस्ता एउटामात्र दर्शनले हाँक्ने छैन, बरु त्यसको सट्टा व्यवहारमा उपयोगी सिद्धान्तहरूको समावेशिताबाट राष्ट्रलाई आवश्यक राजनीतिक मार्गचित्र स्थापित गरेमा कुनै पनि दल व्यवहारिक हुनेछ। र, त्यही शक्तिले आमअपेक्षालाई सम्बोधन गर्नेछ। अन्यथा, त्यो पनि सैद्धान्तिक अहंकारको खरानीमा कतै विलिन हुनेछ।

प्रणाली

हाम्रा सबैजसो दलले स्थापित सामाजिक र राजनीतिक प्रणालीको अवमूल्यन र विनाश गर्नमा आफ्ना महत्वपूर्ण समय खर्चे। हिजो प्रजातन्त्र १५–१६ वर्ष पनि टिकेन, आज लोकतन्त्र धरापमा छ! किनकि, हामीले विगतमा कुनै पनि व्यवस्थाको सकारात्मकभन्दा नकारात्मक पक्ष लियौँ र सकारात्मक पक्ष हठात् त्यागिदियौँ। पञ्चायत र दलीय व्यवस्था दुइटैले एकअर्काका दुर्बल र सबल पक्षबाट केही सिकेनन्– सिक्ने सामान्य प्रयास पनि गरेनन्। प्रणालीमा ध्यान नै दिएनन्। हामीले व्यक्ति ढाल्यौँ र अर्को व्यक्तिलाई पदमा स्थापित गर्यौँा। प्रणालीलाई ख्यालै गरेनौँ। अबको राजनीति प्रणाली केन्द्रित हुनुपर्छ, जसले आफैभित्र विकास, सन्तुलन र नियन्त्रणको सिद्धान्तलाई आत्मसाथ र अंगिकार गरोस। त्यस्तो प्रणाली स्थापित गर्नुको मूल ध्येय नै नागरिक हित हुन्छ, न कि अहिलेको जस्तो नेतृत्वको हित।

व्यवहार

राजनीतिक संगठनको व्यवहारले व्यक्ति, समाज, राज्य र छरछिमेकलाई समेत प्रभावित गर्छ। आजसम्म राजनीतिक दलले भाषणबाहेक समाजमा उल्लेखनीय योगदान दिएनन– दिने चेष्टा नै गरेनन्। सेवा होइन हैकम तिनको चरित्र र शोषण तिनको व्यवहार भएर चिनियो। ती अधिकांश जनताका सेवक होइन विदेशीका गुलाम भएर नांगिए।

अबको राजनीतिक दलको व्यवहार नै सामाजिक र आर्थिक विकास केन्द्रित हुनु जरुरी छ। राजनीतिक दलका सदस्य र नेता कसरी आर्थिक उपार्जन गर्छन्? अबको राजनीतिक संस्कारलाई त्यसैले निर्धारण गर्छ। अब पनि टायर बालेर, ढुंगा हानेर र नागरिकलाई आक्रान्त पार्न सरकारी धनले कार्यकर्ता पालेर शक्तिमा पुग्ने हो भने नयाँ पार्टीले राजनीति नगरे हुन्छ। त्यसको विकल्पमा त्यस्ता संगठनले आफ्ना सदस्यलाई आफ्नै पौरखमा स्वनिर्भर हुन सिकाउँछ भने त्यसले पृथक बाटो समात्ने छ र ढिलै होस्– राम्रो गर्नेछ। साथै, २१औँ शताब्दीको राजनीतिक दल सामाजिक सेवामुखी हुनैपर्छ, किनकि तिनले सामाजिक र आर्थिक विकासमा आफ्ना सदस्यलाई अभ्यस्त बनाएनन् भने ती स्वभावतः भ्रष्टाचारमा अभ्यस्त हुनेछन् र विकास होइन विनास तिनको एजेन्डामा पर्नेछ। त्यसैले अबको राजनीतिक संगठनको भूमिका सत्तामा रहँदा वा नरहँदा पनि मूलतः त्रिकोणात्मक हुन्छ– राजनीतिक, सामाजिक र आर्थिक।

प्रस्थानबिन्दु

उल्लिखित ४ वा त्यस्तै अन्य आधारमा कुनै पनि दल अघि बढ्छ भने त्यसले राजनीतिक सुसंस्कार स्थापित गर्नेछ। त्यस्ता नयाँ दल धेरै खुल्नुभन्दा पनि त्यो चरित्र भएको थोरै भए पनि मुलुकमा अपेक्षाकृत परिवर्तन आउँछ। धेरै नै भएका खण्डमा पनि कतिपय अवस्थामा तिनले राष्ट्रिय हितको रक्षा गर्न र नागरिकलाई सहज जीविकाका लागि हितकारी वातावरण तय गर्न राष्ट्रिय महत्वका मुद्दामा दिगो सहकार्य गर्न सक्छन्। जसले देशलाई दशकौँदेखि आवश्यक परिणाममुखी राजनीति आरम्भ गर्न स्थिरता प्रदान गर्दै सुसंस्कृत र समाधानमुखी राजनीतिक युगको आरम्भ गर्न सक्छ।


गोविन्द नारायण, प्रमुख,(व्यपस्थापिका परिषद्) विवेकशील नेपाली दल

COMMENTS

Name

blog,3,campaign,12,ccmember,1,debate,3,document,1,govindanarayan,1,ideology,4,interview,4,news,4,policy,2,pressrelease,13,stands,10,sticky,1,update,24,video,10,ब्लग,1,
ltr
item
विवेकशील नेपाली: पृथक शक्तिका आधार
पृथक शक्तिका आधार
https://3.bp.blogspot.com/-xW0IxhMsGnQ/XFJMyqJQxiI/AAAAAAAAAgI/XOjJLwqfTQcxbdsjP2p5qcsvQgeHE4pYgCLcBGAs/s400/govinda-narayan-ideology.jpg
https://3.bp.blogspot.com/-xW0IxhMsGnQ/XFJMyqJQxiI/AAAAAAAAAgI/XOjJLwqfTQcxbdsjP2p5qcsvQgeHE4pYgCLcBGAs/s72-c/govinda-narayan-ideology.jpg
विवेकशील नेपाली
https://www.bibeksheelnepali.com/2019/01/blog-post_63.html
https://www.bibeksheelnepali.com/
https://www.bibeksheelnepali.com/
https://www.bibeksheelnepali.com/2019/01/blog-post_63.html
true
1483124868892463538
UTF-8
Loaded All Posts सामग्री पाईएन! सबै हेर्न पुरा पढ्न Reply Cancel reply Delete By Home पृष्ठहरु सामग्रीहरु अरु सबै हेर्न सम्बन्धित सामग्री लेबल अर्काईभ सामग्री खोज्न यहाँ सबै सामग्री यहाँले खोज्नु भएको सामग्री भेटिएन! गृह पृष्ठमा फर्किन Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share. STEP 2: Click the link you shared to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy