२०७५ फाल्गुण १० गते साँझदेखि काठमाडौँ लगायत देशका कतिपय स्थानमा भएका बम विस्फोट लगायतका हिंसात्मक घटनाहरूप्रति विवेकशील नेपाली...
२०७५ फाल्गुण १० गते साँझदेखि काठमाडौँ लगायत देशका कतिपय स्थानमा भएका बम विस्फोट लगायतका हिंसात्मक घटनाहरूप्रति विवेकशील नेपाली दलको गम्भीर ध्यानाकर्षण भएको छ। हामी विस्फोटको घटनामा संग्लनहरुको यथाशक्य छिटो पहिचान गरी कानुनी कारबाही अघि बढाउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ।
बुद्धको देश भनेर चिनिने हाम्रो गुरु भूमिमा कुनै पनि समस्याको समाधान हिंसा - प्रतिहिंसा हुनै सक्दैन भन्ने विवेकशील नेपालीको दृढ विश्वास हो। यसरी हिंसा प्रयोग गरिनु कायरताको पहिचान हो। र यस वीर भूमिमा यस्ता कायरताको कुनै ओचित्य रहन्न।
ललितपुरको नख्खुस्थित एनसेल प्रा.लि.को गेटमा भएको विस्फोटमा परि उपचारको क्रममा मृत्यु भएका व्यक्तिको परिवारलाई राज्यबाट उचित सर-सहयोग र अन्य घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन समेत विवेकशील नेपाली सरकारसँग आग्रह गर्दछ ।
बम विस्फोटको लागि जिम्मेवार पक्षले एनसेल कम्पनीसँग चन्दा मागेको र समयमा नै चन्दा रकम नपाएको कारण विस्फोट गराएको भन्ने समाचारहरू आएका छन् l यदि यो समाचारमा सत्यता छ भने आफूलाई राजनीतिक शक्ति ठान्ने जो कोहिले जवर्जस्ती चन्दा असुली गर्नु र आफ्नो माग पुरा नभए बम विस्फोट जस्तो हिंसात्मक गतिविधिमा उत्रनु निन्दनीय छ l
आफ्ना मागहरू शान्तिपूर्ण तवरबाट अघि सार्न हामी सम्बन्धित सबैलाई आग्रह गर्दछौँ । सरकारलाई पनि शान्तिपूर्ण असहमतिका आवजहरुलाई वार्ता र संवादद्वारा जिम्मेवार पूर्ण ढङ्गले सुनुवाइ गर्न अनुरोध गर्दछौँ l तर फेरी यस्ता घटनालाई राजनीतिको संज्ञा दिएर, दोषीलाई राजनैतिक संरक्षण गरिनु विधिको शासनको वर्खिलाप हुने कुरा समेत दोहोराउन चाहन्छौं।
यस्ता घटनाहरूले त्रासको वातावरण सिर्जना गर्ने र लगानीकर्ताको लगानीको सुरक्षामा समेत शङ्का पैदा गर्ने हुँदा, सरकार र सरोकारवालाहरू अत्यन्तै गम्भीर हुन जरुरी छ। तसर्थ, शान्ति सुरक्षाको व्यवस्था मिलाउन तथा घटना नदोहोरिने प्रत्याभूति दिलाउन राज्यका सम्बन्धित निकायहरूलाई कार्यकुशलताका साथ कानुनको परिधिभित्र रही परिचालन गर्न पनि आग्रह गर्दछौँ।
साथै, एनसेल कर प्रकरणमा सम्मानित सर्वोच्च अदालतको पछिल्लो फैशलालाई अविलम्ब कार्यान्वयनमा लैजान सरकारसँग जोडदार माग गर्दछौँ । यतिन्जेल कर प्रकरणलाई लम्ब्याउने खेलमा संग्लनहरुको पहिचान गरी तिनीहरूमाथि हदैसम्मको कारबाहीको माग समेत गर्दछौँ । देशका सबै विवेकशील नागरिकहरुमा पनि हामी हार्दिक अपिल गर्दछौँ कि यस्ता कायर तथा विवेकहिन कार्यमा सम्मिलित जोकोहीका विरुद्धमा हामी डटेर सामना गरौँ।
धन्यवाद ।
मिलन पाण्डे
प्रवक्ता
विवेकशील नेपाली
मिति: २०७५ फागुन ११
COMMENTS