२०७५/१०/२०: सहभागितामूलक लोकतन्त्रको अभ्यास गर्दै विवेकशील नेपालीको प्रदेश ३ समिति चयन विवेकशील नेपाली दलको प्रदेश ३ का सदस...
२०७५/१०/२०: सहभागितामूलक लोकतन्त्रको अभ्यास गर्दै विवेकशील नेपालीको प्रदेश ३ समिति चयन
विवेकशील नेपाली दलको प्रदेश ३ का सदस्यहरूको एक भेलाले ऐतिहासिक रूपमा प्रत्यक्ष तथा सहभागितामूलक लोकतन्त्रको अभ्यास गर्दै ३५ सदस्यीय प्रदेश समिति सर्वसम्मतिले चयन गरेको छ ।
काठमाडौँमा प्रदेश ३ का १३ ओटै जिल्लाका १२० भन्दा बढी सदस्यहरू उपस्थित भएर र मूल भेलामा उपस्थित हुन नसक्ने सदस्यहरू विभिन्न जिल्लामा भेला भई काभ्रे जिल्लाकी कर्मा लामा तामाङको नेतृत्वमा उक्त समिति गठन गरिएको हो । समितिका उपाध्यक्ष, सचिव तथा कोषाध्यक्षमा क्रमशः ललितपुरकी अनुमा कोइराला, नुवाकोटका विमल तामाङ तथा धादिङका राम रेग्मी चयन भएका छन् ।
जर्मनीमा डेढ दशकदेखि कम्प्युटर विज्ञानकी विज्ञ भएर काम गरेकी दुई छोराछोरीकी आमा तथा प्रदेश ३ की नव निर्वाचित अध्यक्ष कर्माले उक्त भेलालाई सम्बोधन गर्दै भनिन्, "तपाईंहरू सबैले म तथा यस समितिलाई गर्नुभएको विश्वासप्रति समितिको तर्फबाट आभार व्यक्त गर्दछु । हामी सबैले मिलेर नै आगामी दिनको यात्रा तय गर्नेछौं जसको लागि तपाईंहरूको साथ तथा सहयोग पाइनेछ भन्नेमा हाम्रो समिति विश्वस्त रहेको छ ।"
समसामयिक राजनीति तथा नयाँ पार्टीको गठनको सम्बन्धमा उक्त भेलामा उठेका प्रश्नहरूको जवाफ दलका अध्यक्ष उज्वल थापा, केन्द्रीय सदस्यहरू गोविन्द नारायण, रमेश पौड्याल, रन्जु दर्शना, सुबुना बस्नेत, आशुतोष तिवारीले दिएका थिए ।
यही हप्ताभित्र नै अन्य ६ प्रदेशमा पनि प्रादेशिक समितिको गठन गरिने लक्ष्य राखिएको पार्टीका केन्द्रीय सदस्य शशीविक्रम कार्कीले बताए ।
#AlternativePolitics #ParticipatoryDemocracy #WeDeserveBetter#BibeksheelNepali
COMMENTS