प्रेस विज्ञप्ति: विवेकशील नेपालीका उप-निर्वाचनका उम्मेदवारहरूको घोषणा सुसंस्कृत वैकल्पिक राजनीतिको सूत्रधार विवेकशील न...
प्रेस विज्ञप्ति:
विवेकशील नेपालीका उप-निर्वाचनका उम्मेदवारहरूको घोषणा
सुसंस्कृत वैकल्पिक राजनीतिको सूत्रधार विवेकशील नेपाली दलले राष्ट्रिय राजनीतिमा वैकल्पिक अभ्यास स्थापित गर्ने रणनीतिक लक्ष्य सहित "सामान्य मानिसको असामान्य राजनीति" को नजिर बस्ने गरी उप-निर्वाचनमा होमिने निर्णय गरेको छ। गण्डकी प्रदेशको पोखरामा विवेकशील नेपाली दलको कार्तिक १८ र १९ गते बसेको वैठकले कास्की - २ अनि वाग्लुङ २(ख) मा पार्टीको तर्फबाट उम्मेदवार दिने लगायत केही महत्वपूर्ण निर्णयहरू गरेको छ।
उक्त बैठकले कास्की क्षेत्र नं २ प्रतिनिधि सभा सदस्यका लागि जमुना शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। कास्की बैदाम घर भएकी जमुना शर्मा महिला अधिकारको क्षेत्रमा लामो समयदेखि नेतृत्वदायी भुमिका खेल्दै आउनु भएको छ। मनोसामाजिक परामर्शमा समेत उत्तिकै दख्खल शर्मा कानून, समाजशास्त्र, राजनीतिशास्त्र तथा ग्रामीण विकासमा पोख्त हुनुहुन्छ। दुई छोराछोरीकी आमा जमुनाले एचआईभी पीडित, द्वन्द्व पीडित, मानसिक रुपमा समस्यामा परेका बाल-बालिका तथा महिलाहरुलाई विभिन्न माध्यमबाट अतुलनीय सहयोग गर्दै आउनु भएको छ। विभिन्न संघ-संस्थाको नेतृत्वदायी भूमिकामा बसेर होस् या सामाजिक अभियानहरुको नेतृत्व गरेर जमुना शर्माले आफुलाई प्रमाणित गरिसक्नु भएको छ। विवेकशील नेपाली दलले आफ्नो भूमिकालाई अझ नागरिकपक्षीय र प्रभावकारी बनाउन, कास्की-पोखराको गरिमालाई सदा उँचो राख्न चुनाव जित्ने संकल्प सहित जमुना शर्मालाई उम्मेदवार बनाएको छ।
वाग्लुङ २(ख) प्रदेश सभाका लागि विवेकशील नेपाली दलका तर्फबाट सन्तोष भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। सन्तोष भण्डारी बुर्तिवाङका स्थानीय युवा उद्यमी तथा व्यवसायी हुन् । बुवा सत्तारूढ दलको तर्फबाट निर्वाचित जन प्रतिनिधि भए पनि उनी विवेकशील नेपाली दलको स्थापनाकालदेखिकै सक्रिय नेता हुन्। पछिल्लो समय उनले विवेकशील नेपाली दलमा वाग्लुङ संयोजक हुँदै गण्डकी प्रदेश समितिमा सशक्त भूमिका खेल्दै आउनुभएको छ।
यी दुवै साधारण नागरिकहरूले असाधारण साहस देखाएर उम्मेदवार बन्नु भएको छ । सम्पूर्ण नेपाली नागरिकहरुलाई विवेकशील नेपाली दल तथा त्यसका उम्मेदवारहरूलाई साथ दिएर परिवर्तनको बीजारोपण गर्न आह्वान गर्दछौँ। साथै, सम्बन्धित क्षेत्रका मतदातालाई मत दिई तपाईंहरुकै विवेकशील नेपाली दलका उम्मेदवारलाई जिताउन हुन अनुरोध गर्दछौँ।
विवेकशील नेपाली दल
२०७६ कार्तिक १९
COMMENTS