चिनी मिलबाट ६ वर्षदेखिको उखुको पैसा नपाएर अर्को बाली लगाउन समेत चरम आर्थिक संकट भोगिरहेका श्रमजीवी उखु कृषकहरुको आन्दोलन प्रति विवेकशील न...
चिनी मिलबाट ६ वर्षदेखिको उखुको पैसा नपाएर अर्को बाली लगाउन समेत चरम आर्थिक संकट भोगिरहेका श्रमजीवी उखु कृषकहरुको आन्दोलन प्रति विवेकशील नेपाली दलको गम्भीर ध्यानाकर्षण भएको छ।
आधुनिक व्यवसायिक कृषिको मिठा नारा दशकौंदेखि सुनिए पनि तराई-मधेशका उखु कृषकहरूको पीडाको अन्त्य आजसम्म भएको छैन। हरेक वर्ष उखु किसानहरूले उखुको मूल्यको विषयमा संघर्ष गरिरहेको कुरा सर्वविवितै छ। उत्पादन लागतको तुलनामा निक्कै सस्तो दरमा चिनी मिलहरुलाई उखु बेच्नु पर्दाको पीडा त छँदै छ, वर्षौंसम्म चिनीमिलले उखुको बक्यौता मूल्य नदिए पछि कृषकहरू निक्कै मर्कामा परेका छन्। सरकारले नेपाली चिनी मिलहरूको हितलाई ध्यानमा राखेर भारतीय चिनीको आयातमा कडाइ गरे पनि नेपाली चिनी मिलहरूले एकातिर श्रमजीवी कृषकहरूको शोषण गरि नै रहेका छन् भने अर्कोतिर चाडबाडको बेलामा चिनीको मूल्य बढाएर आम-उपभोक्ताहरूलाई सास्ती दिएकै हुन्।
चिनी मिलहरूको यस किसिमको लुटतन्त्रको अन्त्य गर्न नेपाल सरकार किन असक्षम भइरहेको छ? दशकौंदेखि नगदे बालीको रुपमा उखु खेती गरिरहेका कृषकहरूको पीडामा मल्हम लगाउन नसकेसम्म नयाँ पुस्तालाई कसरी व्यवसायिक कृषितर्फ आकर्षित गर्न सकिएला? कृषिप्रधान देश भन्ने अनि कृषकका यस्ता पिडा सम्बोधन नगर्ने हो भने कसरी कस्तो संवृद्धी आउला ?
कृषि विकासलाई आत्मनिर्भर नेपालको आधार मानेको विवेकशील नेपाली दल श्रमजीवी उखु कृषकहरूको यस आन्दोलनमा पूर्ण ऐक्यवद्धता जनाउँदछ।
उखु कृषकहरूको सम्पूर्ण बक्यौता रकम तत्काल चुक्ता गरी उखु किसानहरूलाई राहत दिने वातावरण बनाउन तथा उखु कृषक र चिनी मिलको वर्षौंदेखिको द्वन्द्वको स्थायी निवारण गर्न यथोचित कदम चाल्न नेपाल सरकारका सम्बद्ध निकाय, निजी क्षेत्रका छाता संगठनहरू तथा चिनी उद्योगीहरूसँग विवेकशील नेपाली जोडदार माग गर्दछ।
अजीता राई
उपाध्यक्ष
विवेकशील नेपाली दल
मिति २०७६/०९/१५
COMMENTS