कोभिड-१९ को महामारीले विश्वलाई ग्रसित गरिरहेको अवस्थामा नेपाल सरकारले उपप्रधान तथा रक्षामन्त्रीको नेतृत्वमा कोभिड–१९ रोकथाम तथा नियन...
कोभिड-१९ को महामारीले विश्वलाई ग्रसित गरिरहेको अवस्थामा नेपाल सरकारले उपप्रधान तथा रक्षामन्त्रीको नेतृत्वमा कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समिति गठन गरेको पनि करिव तीन महिना हुन लागेको छ । देशभित्र महामारीसँग जुध्न र नागरिकहरुको जीवनयापन सहज बनाउन सरकार र उसका निकायहरुले नसकिरहेको सत्य उजागार नै छ ।
र, देश बाहिर रहेका करीब ५० लाख नागरिकहरुको सरकारले अभिभाकत्व लिन नसकेको, उनीहरुको स्वास्थ्य स्थितिप्रति उपयुक्त रूपमा संवेदनशील नभएको (४९ जनाको मृत्यु र २ हजार भन्दा धेरै संक्रमित) साथै महामारीको जोखिममा रहेका नागरिकहरुको उद्धार गर्न सम्माननीय सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश कार्वान्वयन गर्न नसकेको प्रति विवेकशील नेपाली दलको ध्यानाकर्षण भएको छ।
यसै सन्दर्भमा घर फर्किन नेपालको सीमासम्म आएका नेपाली नागरिकहरुलाई र विश्वका जुनसुकै ठाउँमा जोखिममा रहेका आफ्ना नागरिकको अभिभाकत्व लिन विवेकशील नेपाली दल सरकार समक्ष जोडदार माग गर्दछ ।
यो जटिल घडीमा विदेशमा काम गर्ने धेरैजसो नागरिकहरुले रोजगारी गुमाई आफ्नै देश फर्कनुपर्ने सम्भावना उत्तिकै प्रखर छ । सो जटिलतालाई सम्बोधन गर्न विवेकशील नेपाली दल सरकार समक्ष पूर्व तयारी गर्न माग गर्दछ र निम्न बमोजिमका सुझावहरु प्रस्तुत गर्दछ :
१. सम्बन्धित देशको राजदूतावाससँग समन्वय गरेर श्रमिकहरूले पाउनु पर्ने सहुलियत र बाँकी रकम पाउने व्यवस्था गर्ने। साथै, रोजगारी गुमाएर घरपरिवारलाई खर्च पठाउन नसकेका पिडित परिवारको पहिचान गरि वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा भएको करिब ६ अर्ब रुपैयाँ तत्काल राहत स्वरूप उनीहरुलाई वितरण गर्ने।
२. विदेशमा काम गर्न गएका र नेपाल फर्कन चाहने सबै व्यक्तिहरुको विवरण राष्ट्रिय डाटाबेशमा संकलन गर्ने । उनीहरुलाई राष्ट्रिय रुपमा उपलब्ध हुने रोजगारीमा सीप बमोजिम जोडा मिलाउने ।
३. नेपालमा नै काम गरेका तथा कोभिड - १९ को संकटले गर्दा रोजगारी गुमाएका व्यक्तिहरुलाई पनि उक्त डाटावेसमा आफ्ना विवरण बुझाउन लगाउने र उपयुक्त रोजगारीमा जोडा मिलाई आवश्यक प्रक्रियाको लागि पठाउने ।
४. विदेशमा काम गरेर फर्केकाहरुलाई उद्यमशीलताको परामर्श, ऋणमा उपलब्धता, करमा छुट लगायतका सुविधा उपलब्ध गराई नयाँ व्यवसाय खोल्न प्रोत्साहित गर्ने ।
नेपाल आमाको जय होस् !
अजीता राई
उपाध्यक्ष
विवेकशील नेपाली दल
२०७७ वैशाख १८ गते
COMMENTS