बिग्रे आफू बिग्रन्छु, सप्रे सारा देश सपार्छु, बुबा म राजनीति गर्छु

बुबा, मलाई तपाईंले ‘मेरो छोरा डाक्टर बन्छ, इन्जिनियर बन्छ, धेरै पैसा कमाउँछ अनि बालाई पाल्छ’ भन्दै बुई चढाएको हिजोझैं लाग्छ। मलाई हुर...


बुबा, मलाई तपाईंले ‘मेरो छोरा डाक्टर बन्छ, इन्जिनियर बन्छ, धेरै पैसा कमाउँछ अनि बालाई पाल्छ’ भन्दै बुई चढाएको हिजोझैं लाग्छ। मलाई हुर्काउन, सक्षम बनाउन तपाईंले आफ्ना धेरै इच्छा–आंकाक्षा समर्पित गर्नुभएको छ। मेरो खुसीका लागि तपाईंले गर्नुभएको समर्पण मैले बुझेको छु। छोरा इञ्जिनियरिङ सकेर बाहिर जाओस् अनि उच्च शिक्षा हासिल गरोस् भन्ने तपाईं चाहनुहुन्छ। तपाईंलाई मैले आफ्नो जिन्दगी सुरक्षित गरोस् भन्ने छ। आज तपाईंकै आशिर्वादले म त्यो सपना पूरा गर्ने स्थितिमा पुगेको पनि छु।

तर बुबा, म विदेश जान्न, स्वदेशमै पढ्छु अनि राजनीति गर्छु।

केही वर्षअघि ‘कुकुर’ चुनाव चिह्न लिएर उठेका स्वतन्त्र उम्मेदवारको पक्षमा चुनावी अभियानमा हिँडेको थाहा पाएर तपाईंले ‘छोरा पढाइ बिगारेर राजनीतिमा लाग्यो’ भनेर खाना नखाएको मैले बिर्सेको छैन। तपाईंको चिन्ता नाजायज होइन। आफ्ना छोराछोरी ठूलो मान्छे बनुन्, धेरै पढुन् भन्नु स्वाभाविकै हो। हालको राजनीतिको अवस्था हेर्दा आफ्ना छोराछोरी राजनीतिमा नलागुन् भन्नु बुबाआमाको ठाउँबाट सही हो। तर बुबा, पोखरी फोहोर छ भनेर सफा नगर्ने हो भने पोखरी कसरी सफा हुन्छ त?

म जन्मेको दिन नेपाल बन्द थियो। त्यसैले, म घरमै जन्मिएँ। म झोला बोकेर स्कुल जान हिँड्थेँ, आज बन्द भनिन्थ्यो। अनि, म चुपचाप फर्किन्थेँ। मैले एसएलसी दिँदै गर्दा मेरो प्रश्नपत्र बाहिरेको भन्दै पत्रिकामा छापिएको थियो। जब म डाक्टर बन्न प्रवेश परीक्षा दिन तम्सिएँ, राजनीतिक आडमा प्रश्नपत्र बाहिरिएको अनि बेचिएको खबर आयो। घुस खाएर नाम निकालेको खबर आयो। मेरो एक नम्बर नपुगेर नाम निस्किएन।

जब म डाक्टर बन्ने सपना त्यागेर इञ्जिनियरिङको प्रवेश परीक्षामा सामेल भएँ त्यहाँ पनि मलाई यो बेथितिले छाडेन। परीक्षा दिएर जब म खुसी हुँदै बाहिर निस्किएँ, भोलिपल्ट पत्रिकामा प्रश्नपत्र बाहिरेको अनि फेरि पुनः परीक्षा हुने भयो भन्दा म कति रोएको थिएँ।

बुबा, तपाईं राजनीति नगर भन्नुहुन्छ तर म त जन्मेकै दिनदेखि राजनीतिमै छु झैं लाग्छ। बरु अब भने म, ममाथि भइरहेको जबर्जस्तीको राजनीति रोक्न, राजनीति गर्न जाँदै छु।

नेपालको राजनीति मात्रै होइन, नेपालको इतिहास पनि संक्रमणकालबाट गुज्रँदै छ। यो सामान्य परिस्थिति होइन। तपाईं आफ्ना छोराछोरी अमेरिका जाउन्, नेपालमा दुःख खेपेर यहीँ इलम गर्न नपरोस् भन्नुहुन्छ। तर, फेरि तपाईंलाई देश राम्रो भएको पनि हेर्नुछ। बुबा, तपाईंलाई मेरो सामान्य प्रश्न, तपाईंका छोराछोरी राजनीतिमा लाग्न नहुने अनि अर्काका छोराछोरीले तपाईंका निम्ति यो देश किन बनाइदिनुपर्ने? तपाईंजस्तै सबैले यही सोच्छन्, अब भन्नुस् देश कसले बनाउने? यहाँ को बस्ने?

हुन त देश बनाउन राजनीति नै गर्नुपर्छ भन्ने होइन। आ–आफ्नो स्थानबाट सर्वोत्कृष्ट काम गरेर पनि देश बनाउन सकिन्छ, तर त्यसका निम्ति राजनीति सफा हुनुपर्छ। आमनागरिकको भावना बुझेको मानिसको नेतृत्व हुनुपर्छ, तर यहाँ त्यही छैन बुबा। हालको राजनीतिमा धेरै कम मात्र सक्षम मानिस छन्। तिनले पनि नतिजा दिन सकेनन्। केही गर्ने माहोल नै बन्न सकेको छैन। त्यसैले, अब युवा अघि सर्नुपर्छ अनि देश विकासका अरू क्षेत्रसँगै राजनीतिमा पनि लाग्नुपर्छ। त्यसका लागि मैले पाइला चाल्नैपर्छ बुबा। नत्र ढिला हुन्छ। यो पुस्तासँग अब पनि पर्खने समय छैन। यो पुस्तासँग भएको उत्तम र अन्तिम मौका यही नै हो।

साढे दुई वर्षअघि त्यही ‘कुकुर’ चुनाव चिह्न लिएर उठेका उम्मेदवारको चुनावी अभियानमा सक्रिय रहँदै गर्दा मैले एक जना यस्तो मान्छे भेटेँ, जसको प्रश्नले मेरो जिन्दगी नै परिवर्तन गरिदियो। काठमाडौं–८, भीमसेनस्थानको ओरालोमा पर्चा बाँड्ने क्रममा, मैले एक जना बूढी आमालाई पर्चा दिँदै भनेँ, ‘आमा, यसपालि युवालाई भोट दिनुस् है?’

उहाँले सोध्नुभयो, ‘भोट हालेपछि के हुन्छ बाबु?’

मैले उत्तर दिएँ, ‘संविधान बन्छ, विकासको बाटोमा देश अघि बढ्छ।’

आमाले तुरुन्तै गहभरि आँशु राख्दै भन्नुभयो, ‘अनि त्यसपछि मेरो अमेरिकामा रहेका छोराछोरी, नाति–नातिना पनि नेपाल आउँछन् होला है?’

म निशब्द भएँ। केही उत्तर दिन सकिनँ। हामी आफू पछि हटेर यो कस्तो समाज निर्माण गर्दैछौं? हामी किन पन्छिरहेका छौं?

बुबा, म तिनै बूढी आमामा मेरी आमाको झल्को देख्छु। मलाई तिनको परिवार नेपाल फर्काउनुछ। मलाई विकास अनि समृद्धिको राजनीति गर्नुछ। त्यसैले, मलाई नरोक्नुस् बरु राजनीति गर्न आशिर्वाद दिनुस्।

मलाई यो देशका असक्षम नेताहरू अनि देशको हालत देख्दा निकै पीडा हुन्छ। धेरै रिस उठ्छ। हामीलाई प्रकृतिले सबै कुरा दिएको छ। म केही दिनअघि इन्डियाबाट नेपालमा काम गर्न आएका एक जना दाइले भनेको सम्झन्छु।  उनी भन्थे, ‘नेपालमा त म पैसा हावामा नाचेको देख्छु।’

सारा विश्वले त्यो कुरा देखेको छ। तर, हाम्रो नेतृत्वले बुझ्न सकेन बुबा।  हाइड्रोपावर, पर्यटन, कृषि, जडिबुटी, हावा, पानी आदि इत्यादी सब छ हामीसँग तर त्यो बुझ्ने नेतृत्व भएन।

यहाँ बहुदलीय प्रजातन्त्र आएको पनि तीन दशक पुग्न लागिसक्यो। यति समयमा त मरुभूमि पनि हराभरा हुन्छ तर हाम्रो हराभरा देश मरुभूमि भएको छ। हाम्रो देश बनाउन केही गर्नुपर्दैन थियो बुबा, केही नगर्देको भए मात्र पनि पुग्थ्यो। आफैं विकास हुन्थ्यो। त्यस्तो सम्भावनाले भरिएको देश हो हाम्रो, तर केही व्यक्तिको स्वार्थ अनि इगोमा देश २८ वर्षदेखि फसेको छ। उनीहरूले चाहेर पनि अब केही गर्न सक्दैनन्। अब पनि मेरो पुस्ताले त्यो दायित्व नलिने हो भने देश कहिल्यै बन्दैन। एकदिन यस्तो आउनेछ, नेपालीले आफू नेपाली हुँ भन्न लाज मान्ने छन्। त्यस्तो परिस्थिति रोक्नुछ। त्यसैले बुबा, मलाई २१ औं शताब्दिको विकास उन्मुख राजनीति गर्नुछ।

बुबा, ठूलो बुबाको घर जाने बाटो किन चिल्लो छ थाहा छ, त्यो ठाउँमा पूर्वमन्त्रीको घर छ अनि रमेश अंकलको घरमा किन सधैं पानी आउँछ थाहा छ? किनकि त्यो इलाकामा नेपाल सरकारका ठूला कर्मचारीहरू बस्छन्। बुबा, यहाँ त लोडसेडिङको तालिकादेखि भात पकाउने ग्यासमा समेत व्यक्तिगत स्वार्थका लागि राजनीति हुन्छ। हामीले यी सबैको धेरै वर्षदेखि मौन समर्थन गर्यौं। आक्कलझुक्कल विरोध पनि गर्यौं। धेरै वर्ष कोही आएर देशको नेतृत्व लिन्छ कि भनेर पनि हेर्यौं, अब आफैं अघि बढेर चुनौती दिने बेला आएको छ। विकल्प कुर्दै बस्ने होइन, विकल्प बन्ने बेला भएको छ।

मैले केही समययता सामाजिक अनि राजनीतिक अभियानहरूकै सिलसिलामा तपाईं–हामीले आशा गरेका धेरै नेता, सामाजिक व्यक्तित्व, पूर्व मन्त्री, प्रधानमन्त्रीहरू भेट्ने अनि उहाँहरूको भिजन बुझ्ने मौका पाएँ। उहाँहरूलाई भेटेपछि मभित्र रहेको अलि अलि आशा पनि मर्यो बुबा। सेतो कमिज लगाउनेहरू दाग लाग्ने डरले राजनीतिमा हाम फाल्न सक्दैनन् अनि फोहोर कमिज लगाउनेलाई न नागरिकको फिक्री छ न त देशकै। त्यसैले पनि म जस्ता युवासँग अब विकल्प छैन। न त समय नै छ। अब यो देश युवाले नै अघि बढाउनुपर्छ बुबा।

नेपाल एकीकरण गर्न निस्कदा पृथ्वीनारायण शाह १९ वर्षका थिए। ३१ वर्षको उमेरमा भीमसेन थापा यही देशका प्रधानमन्त्री बनेका थिए। १९ वर्षकै उमेरमा मार्क जुकेरबर्गले फेसबुकबाट दुनिया हल्लाएका थिए। इतिहास साक्षी छ बुबा, युवाले देश बनाएका छन्, संसार हल्लाएका छन्। नपत्याउने खोलाले नै बगाएको छ। के बिपी कोइराला राजनीतिमा आउनुअघि ठूला नेता थिए र? ली क्वान युलाई राजनीतिमा जानुअघि कसले पत्याएका थिए र? के नेल्सन मन्डेला परिस्थितिसँग भागेरै नेल्सन मण्डेला बनेका हुन् त? हैन बुबा, परिस्थितिसँग भाग्नु समाधान होइन।

त्यसैले बुबा, मलाई यो बन्दै गरेको इतिहासमा एउटा इँटा थप्ने मौका दिनुस्।

बुबा, मलाई राजनीति गर्न अनुमति दिनुहोस्।

अब यो देशमा आधुनिक कृषिका बारेमा किसानसँगै खेत जोत्न सक्ने नेता चाहिएको छ। इञ्जिनियर अनि विज्ञसँग बसेर पूर्वाधारको कुरा गर्न सक्ने मन्त्री चाहिएको छ। शिक्षा अनि स्वास्थलाई प्राथमिकतामा राखेर नीति बनाउन सक्ने सांसद चाहिएको छ। अनि, यो देशलाई युवासँगै गितार बोकेर युवाहरूसँग झुम्न सक्ने प्रधानमन्त्रीको खाँचो छ। त्यसैले अब मजस्तो युवा मैदानमा आउनुको विकल्प छैन। मैले धेरै युवालाई प्रतिनिधित्व गर्नुछ। मैले धेरै युवालाई हौस्याउनुछ। राजनीतिमा आउन प्रेरित गर्नुछ।

त्यसैले पनि, अब मैले पाइला कमाउन हुँदैन बुबा, मैले राजनीति नै गर्नुपर्छ।

बुबा, देश बनाउने उत्तम समय २०४६ पछि तपाईंकै पालामा थियो, तर तपाईंको पुस्ता त्यहीँनेर चुक्यो। अब हाम्रो पुस्तालाई चुक्न दिनुहुँदैन। त्यसैले पनि अब म अघि बढ्नुपर्छ। धेरैलाई अघि बढाउनुपर्छ। राजनीति नै सफा नभएसम्म केही हुनेवाला छैन। तपाईंको पुस्ताले अलि सक्रियता लिएको भए आज मैले राजनीति गर्नुपर्दैन थियो।

त्यसैले पनि, म मेरो आगामी पुस्ताका लागि निराशा छाडेर जान सक्दिन बुबा। मैले अब सुसंस्कृत राजनीतिको थालनी गर्नैपर्छ।

अझै पनि मलाई बुझ्नुभएन अनि राजनीति गरेर मैले आफ्नो भविष्य बिगार्दै छु भनेर सोच्नुहुन्छ भने बुबा म तपाईंसँग माफी माग्दै यति भन्न चाहन्छु, ‘बिग्रे आफू बिग्रन्छु, सप्रे सारा देश सपार्छु, बा म राजनीति गर्छु।’


सेतोपाटीमा प्रकाशित: बुधबार, भाद्र १५, २०७३ १३:४४:१८

COMMENTS

Name

annualreport,2,blog,4,campaign,13,ccmember,1,debate,4,document,1,govindanarayan,1,ideology,4,interview,12,news,2,newsletter,1,policy,2,pressrelease,52,stands,10,sticky,1,update,25,video,14,ब्लग,1,
ltr
item
विवेकशील नेपाली: बिग्रे आफू बिग्रन्छु, सप्रे सारा देश सपार्छु, बुबा म राजनीति गर्छु
बिग्रे आफू बिग्रन्छु, सप्रे सारा देश सपार्छु, बुबा म राजनीति गर्छु
https://1.bp.blogspot.com/-KzJqP9347eY/XxRZGQs9MQI/AAAAAAAAGLk/Sj7S8sU_8kYZ6Lh_sc3LcDX5Grzd7YongCPcBGAYYCw/s320/milan_pandey.jpg
https://1.bp.blogspot.com/-KzJqP9347eY/XxRZGQs9MQI/AAAAAAAAGLk/Sj7S8sU_8kYZ6Lh_sc3LcDX5Grzd7YongCPcBGAYYCw/s72-c/milan_pandey.jpg
विवेकशील नेपाली
https://www.bibeksheelnepali.com/2020/07/blog-milan-pandey.html
https://www.bibeksheelnepali.com/
https://www.bibeksheelnepali.com/
https://www.bibeksheelnepali.com/2020/07/blog-milan-pandey.html
true
1483124868892463538
UTF-8
Loaded All Posts सामग्री पाईएन! सबै हेर्न पुरा पढ्न Reply Cancel reply Delete By Home पृष्ठहरु सामग्रीहरु अरु सबै हेर्न सम्बन्धित सामग्री लेबल अर्काईभ सामग्री खोज्न यहाँ सबै सामग्री यहाँले खोज्नु भएको सामग्री भेटिएन! गृह पृष्ठमा फर्किन Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share. STEP 2: Click the link you shared to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy