अहिले सत्तामा रहेका सङ्गठन शक्तिमा पुग्दासम्म भ्रष्ट हुनु वा परिणाम दिन नसक्नुका प्रमुख कारण नेतृत्व र सङ्गठन मूल्यमान्यतामा अडिग रहन नसक्नु हो। तसर्थ, विवेकशील नेपाली दलको राजनीतिक आधार सधैँ मूल्यमान्यताको ६ खम्बे आधारमा खडा हुनेछ।
दलको उदेश्य र औचित्य मूल्यमान्यताको मर्म र अभ्यासको जगमा स्थापित हुन्छ। समयानुकूल परिमार्जन आत्मसात गर्दै विवेकशील नेपाली दलको कार्यशैलीमा निम्न मूल्यमान्यता अवलम्बन गरिनेछ।
१) पद्धति (Process)
क) व्यक्ति, समिति र संस्था विधि अन्तर्गत संचालन हुने।
ख) निर्णय प्रक्रियामा सहभागिता, अपनत्व र जवाफदेहितालाई प्राथमिकता दिने।
(थप स्पष्टता: राजनीतिमा साधन र साध्यको सदैव चिन्तन, मन्थन र प्रयोग हुन्छ। कुनै पनि लक्ष्य विधि वा माध्यम बिना हासिल गर्न सकिन्न। मानौँ, खेलमा जित्न पनि खेलकको नियमभित्र बसेर गरिने निरन्तर अभ्यासद्वारा मात्र सम्भव हुन्छ। राजनीतिमा पनि त्यो नियम र प्रणाली हुन्छ जसलाई सबैले शिरोपर गरेर अभ्यास गर्नु पर्ने हुन्छ। त्यस नियमको सकारात्मक अभ्यासले नै राजनीतिक सुसंस्कारलाई स्थापित गर्छ र अपेक्षाकृत लक्ष्य हासिल हुन्छ। तसर्थ विवेकशील नेपाली दल शान्त र सम्वृद्ध राष्ट्र निर्माणको लागि अबलम्बन गरिने लोकतान्त्रिक र शान्तिपूर्ण प्रणालीमा आधारित हुनेछ। व्यक्ति र शक्तिमा होइन मूल्यमान्यता र प्रणालीमा आधारित हुनेछ।)
२) पारदर्शीता
क) विचार, प्रक्रिया र प्रणालीमा पारदर्शीता राख्ने।
ख) सम्पूर्ण आर्थिक हिसाब-किताब पारदर्शी रहने।
ग) सम्पूर्ण निर्णयहरु (गोपनीयता कायम गर्ने तोकिएका विषय बाहेक) पारदर्शी रहने।
३) निष्ठा
क) बोली र व्यवहारमा जब तादम्यता हुन्छ तब मात्र उसलाई निष्ठावान् भन्न मिल्छ र ऊ भरोसा गर्न लायक हुन्छ।
ख) अरुले देख्दा मात्र होइन, कसैले नदेख्दा पनि आफ्नो इमानमा नडग्मगाउने ब्यक्ति नै निष्ठावान हो।
(थप स्पष्टता: लोकहित र सेवालाई प्रवर्द्धन गर्न देशमा नागरिकहरु निष्ठावान् बन्नु अपरिहार्य छ। कुनै पनि निष्ठावान् नागरिक आफ्नो कामप्रति पनि पूर्ण इमान्दार रहन्छ र नैतिकतामा अडिग रही सत्यको पक्षमा निरन्तर पहल गरिरहन्छ। निष्ठावान् नागरिक नै भ्रष्ट समाज सफा गर्ने माध्यम हुन्।)
४) साहस
क) नेपाली समाजमा व्याप्त अन्याय र अत्याचारलाई औँलो ठड्याउने साहस तथा आत्मविश्वास नागरिकहरुमा हुनुपर्छ। गल्ती गरे पनि माफी माग्ने र सुधार गर्न सक्ने साहस तथा आत्मविश्वास नागरिकहरुमा हुनुपर्छ।
ख) समाजका बेथिति चिर्नको लागि बोल्ने, उभिने र निरन्तर काम गर्ने साहस आवश्यक छ।
ग) नेपाल र नेपालीको हितको रक्षा गर्न हामी नेपाली नै सक्षम छौं भन्ने देशप्रेममा आधारित राष्ट्रिय आत्मविश्वासको विकास गर्ने बाटोमा दलले नेतृत्व गर्नेछ।
५) समावेशी उत्कृष्टता
क) समावेशी उत्कृष्टता भन्नाले समग्रतामा बुझ्नुपर्नेछ। समग्रता भन्नाले योग्यता, समावेशिता, मानवीयता, सहभागिता र विविधता भनेर बुझ्नुपर्छ।
ख) उत्कृष्ट नेतृत्व सदैव लोकहितप्रति जवाफदेही रहन्छन्।
ग) आफू पनि उत्कृष्ट बन्न कम्मर कस्ने र अरुको उत्कृष्ठतालाई पनि उचित कदर गर्ने नागरिकले नै नेपालमा आत्मसम्मान, सहिष्णुता र संवृद्धिको जग बसाउछन।
(थप स्पष्टता: अहिले हरेक नेपालीभित्र झाङ्गिएर बसेको नातावाद, कृपावाद, जातीय विभेद र अहंकार जस्ता कुसंस्कारलाई अन्त्य गरि ‘कर्म’लाई संस्थागत गराउनु जरुरी छ जसले गर्दा नेपाली समाज उत्कृष्ठता, नवीनता र सिर्जनशीलताको भरमा अडिग रहन्छ न कि वंश, नाता वा कृपावादमा।)
६) समानुभूति
क) विविधताले भरिएको नेपालमा एक अर्का प्रति समानुभूति बोक्न सक्ने नागरिकहरुले नै यहाँका विविध भाषाभाषी र संस्कृतिलाई एकजुट राख्नसक्छ।
ख) फरक सोच, विचार र पीडा व्यथालाई ‘समान’ अनुभूति गर्न सक्ने सहभागितामूलक र सहिष्णु मानवताको संस्कार नागरिकहरुमा विकास गरे मात्र हामीले सभ्य र जीवन्त समाज बनाउन सक्छौं।
ग) ‘मै मात्र सक्छु, मैले मात्र जानेको छु’ भन्ने अहंको भावनाले ग्रस्त नेतृत्व शैलीलाई लोकतान्त्रिक विधि र पद्धतिमा बाँध्न समानुभूति र विनम्रता अपरिहार्य छ।
घ) समानुभुतीको प्रारम्भिक सर्त विनम्रता हो। विनम्रताले ‘को ठीक भन्दा पनि के ठीक’ भन्नेतर्फ समाजलाई निर्देशित गर्दछ जसबाट देशवासीहरुमा जीत-जीतको सम्बन्ध बनाउन सघाउ पुग्छ। विनम्रताले संवाद र संचारलाई अझै सरल र प्रभावकारी बनाउदछ।
COMMENTS